![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४)
मौसमी सारांश
- गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको मोरङ्ग जिल्लामा रहेको विराटनगर एयरपोर्ट केन्द्रमा १०९.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका थोरै तराईका स्थानहरुमा तथा सुदूर-पश्चिम प्रदेशका एक-दुई तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको पर्सा जिल्लामा रहेको विरगन्ज केन्द्रमा सबैभन्दा बढी ३५.८ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम २.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यस साता पश्चिमी वायुका र स्थानीय वायुको प्रभाव रहने देखिन्छ। साताको शूरुमा बङ्गालको खाडी र अरब सागरबाट भित्रिने जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको शुरूमा एक-दुई स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना सम्भावना छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साताको शुरू र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको शुरूमा एक-दुई स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साताको शुरूमा थोरै स्थानहरूमा तथा मध्य र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- तराई भू-भागः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा साताको शुरू र मध्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
- यस साता देशको पहाडी तथा तराईको भू-भागमा अधिकतम र न्यूनतम तापक्रममा हल्का बढ्ने सम्भावना छ।
कृषि सारांश
- यस समयमा खास गरी बढी तापक्रम हुने क्षेत्रमा खेतबारीमा काम गर्दा हिटस्ट्रोक हुने सम्भावना भएकाले सकेसम्म धेरै गर्मी हुने समयमा (बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म) खेतबारीमा काम नगर्नुहोस्। काम गर्दा पर्याप्त पानी खाने, सुरक्षात्मक कपडा लगाउने कार्य गर्नुहोस्।
- चैते धानमा पतेरो कीरा व्यवस्थापनको लागि खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको बैकल्पिक आश्रय नष्ट गर्ने; प्रकाश पासोको प्रयोग गरी बयस्क कीरालाइ मार्नुहोस्। साथै, बयस्क कीरा व्यवस्थापनको लागि स्थानीय रुपमा डर्टी ट्रयाप (गाई, भैंसीको ताजा पिसावमा कपडा वा जुटको बोरालाई भिजाएर एउटा लठ्ठीको छेउमा बाँध्ने र उक्त लठ्ठीलाई धानखेतको बीचमा लगेर गाड्ने, ट्रयापमा आकर्षित भएका पतेरोहरुलाई बाहिरपट्टिबाट प्लाष्टिकको झोलाले छोपी संकलन गरी मार्ने) को प्रयोग गर्नुहोस्। प्रकोप ज्यादा भएमा साइपरमेथ्रीन १०% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस।
- गहुँको दानामा चिस्यानको मात्रा १०-१२ प्रतिशत कायम हुने गरी सुकाएर हावा नछिर्ने भाँडाहरु जस्तै- घ्याम्पो, सीड बिन, आधुनिक ब्यागहरुमा भण्डारण गर्नुहोस्। गोदामलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै, भण्डारणका लागि प्रयोग हुने बोरालाई ५% नीमको घोल अथवा मालाथियन ०.२५% को घोलले बोरा उपचार गरी घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसले रोग र कीराहरूका विभिन्न अवस्थाहरु नष्ट हुन्छन्।
- मध्यपहाडी जिल्लाहरुमा पुसको अन्तिम हप्ता तथा माघको पहिलो हप्तामा लगाईएको आलु मौसमको अवस्था हेरी खन्नुहोस्। खनेको आलुलाई घाम नपर्ने, हावा खेल्ने ठाउँमा राम्ररी फिजाएर राख्नुहोस् साथै स्वस्थ र रोगि आलुका दानाहरुलाई छुट्टैछुटै भण्डारण गर्नुहोस्।
- वर्षे फलफूल वगैँचा स्थापनाका लागि छनोट गरिएको जमिनमा सिफारिस अनुसारको खाडल तयारी गरी गुणस्तरीय विरुवाको श्रोत सुनिश्चित गर्नुहोस्।
- स्ट्रबेरीको पात थोप्ले रोग व्यवस्थापनको लागि २ ग्राम क्लोरथालोनिल प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा ३-४ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
- बाह्य परजीवीहरू (जुम्रा, किर्ना, उपियाँ, जुम्रा आदि) ले बाख्राको स्वास्थ्यलाई गम्भीर असर पार्न सक्छन्। यी परजीवीहरूबाट बाख्रालाई जोगाउन डिपिङ विधि अपनाउनुहोस्।
- तराईका भू-भागहरुमा गर्मीको कारण माछा मर्न सक्ने हुँदा समस्या न्यूनीकरणका लागि भुरा हुर्काउने नर्सरी पोखरीहरूमा बिहान-बेलुका एरेटरको नियमित प्रयोग गर्नुहोस् तथा पम्पको प्रयोग गरी पानीको तापक्रम स्थिर राख्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।