![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ६)
मौसमी सारांश
- गत साता देशका सबै केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा एयरपोर्ट केन्द्रमा ३०५.३ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। सुदूर-पश्चिम प्रदेशका अधिकांश तराईका स्थानहरुमा र लुम्बिनी प्रदेशका केही तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी तथा अन्य तराईका अधिकांश स्थानहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूर-पश्चिम प्रदेशको डोटी जिल्लामा रहेको दिपायल केन्द्रमा सबैभन्दा बढी ३७.० डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम ६.१ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहने देखिन्छ। साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिने जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहने देखिन्छ। यो साता मनसुन आगमनको सम्भावना न्यून रहेको छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताभर थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै यो साता कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ।
- यो साता अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
- हिमाली तथा पहाडी भू-भागहरूमा सरदर वर्षा हुने तथा तराई भू-भागमा सरदरको तुलनामा हल्का बढी वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम सरदरको तुलनामा हल्का कम तथा न्यूनतम तापक्रम हल्का बढि रहने सम्भावना छ।
मनसुन सिजन २०८२ (१८ जेठ – १४ असोज २०८२) को हावापानी आँकलन
- जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम समेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको छ।
कृषि सारांश
- आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर वा सरदर भन्दा बढी वर्षा हुने संभावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि कृषि कर्महरु गर्दा पुर्व तयारी कार्यलाई विशेष ध्यान दिनुहोस्। साथै सुख्खा र डुबान दुवै सहन सक्ने धानका सिफारिश गरिएका जातहरु आवश्यकता अनुसार लगाउनुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
- यस साता स्थानीय वायु र पश्चिमी वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिने जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहने भएकोले मकैबाली, तरकारी तथा फलफूल बगैंचामा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्।
- मकैबालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिएकोले नियमित अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोएट ५% एस.जी., १ ग्राम प्रति ३ लिटर पानी वा स्पिनोस्याड ४५% एस.सी., १ एम.एल. प्रति ३ लिटर पानीको दरले बोट भिज्नेगरि ७ दिनको फरकमा २-३ पटक छर्नुहोस्।
- खनेको आलुलाई घाम नपर्ने, हावा खेल्ने ठाउँमा राम्ररी फिजाएर राख्नुहोस् साथै स्वस्थ र रोगी आलुका दानाहरुलाई छुट्टैछुटै भण्डारण गर्नुहोस्।
- सुन्तलाजात फलफूलको बोटको टुप्पो सुक्दै आउने, जरा र फेद कुहिने, पँहेलिने, बोट मर्ने रोग देखिएमा उचित व्यवस्थापनको विधिहरु अपनाउनुहोस्।
- लहरे बालीमा लाग्ने धुले ढुसी रोग ब्यबस्थापनको लागि रोगी विरुवाको ठुटाहरु र झरेका पात जम्मा गरेर नष्ट गरि सल्फरयुक्त विषादी जस्तै-क्याराथेन वा थायोफेनेट मिथायल १.५ एम.जी. प्रति लिटर पानीमा मिसाई पुरै बोट भिज्नेगरि ७-१० दिनको अन्तरमा २-३ पटक आवश्यकता अनुसार छर्कनुहोस्।
- खनेको प्याजको बोटलाई २-३ दिन छाँयामा फिँजाएर मात्र टुप्पा काटी गाना अलग गर्नुहोस्। रोग लागेर बिग्रेको गानालाई हटाई केहि दिन सुकाएर प्याजको साईज अनुसार छुट्याएर भण्डारण गर्नुहोस्। साधारण अवस्थामा प्याजलाई खुला हावा लाग्ने बाँसको वा अन्य -याकमा भण्डारण गर्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि क्याराथेन १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- बाह्य परजीवीहरू (जुम्रा, किर्ना, उपियाँ, जुम्रा आदि) ले बाख्राको स्वास्थ्यलाई गम्भीर असर पार्न सक्छन्। यी परजीवीहरूबाट बाख्रालाई जोगाउन डिपिङ विधि अपनाउनुहोस्।
- प्रि-मनसुनको समयमा हुने तापीय आघात तथा हावाहुरी, असिना पानीबाट बचाउन माछापोखरीमा पानीको गहिराई कम्तीमा १.५ मिटर कायम राख्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।