![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ८)
मौसमी सारांश
- गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लाको नुम केन्द्रमा ५२५.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको सुदूर-पश्चिम प्रदेशका अधिकांश तराईका स्थानहरुमा, लुम्बिनी प्रदेशका र मधेश प्रदेशका केही तराईका स्थानहरुमा तथा गण्डकी प्रदेशका एक-दुई तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको पर्सा जिल्लामा रहेको विरगन्ज केन्द्रमा सबैभन्दा बढी ३८.२ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ५.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ। साताभर बङ्गालको खाडी र अरब सागरबाट भित्रीने जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरु र मध्यमा कोशी र सुदुरपश्चिम प्रदेशको थोरै र बाँकी एक-दुई थोरै स्थानहरूमा र अन्तमा थोरै/केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताको शुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने साताको अन्तमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः देशका तराइ भू-भागमा साताको शुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साताको अन्तमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
- यो साता देशको पहाडी तथा तराईको भू-भागमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन सम्भावना छ।
कृषि सारांश
- आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर वा सरदर भन्दा बढी वर्षा हुने संभावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि कृषि कर्महरु गर्दा पुर्व तयारी कार्यलाई विशेष ध्यान दिनुहोस्। साथै सुख्खा र डुबान दुवै सहन सक्ने धानका सिफारिश गरिएका जातहरु आवश्यकता अनुसार लगाउनुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
- यस साताको अन्तमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले मकैबाली, तरकारी तथा फलफूल बगैंचामा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्। साथै तयार भएको चैते धान मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
- सुन्तलाजात तथा वर्षे फलफुल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
- फलफूल बालीका नर्सरीहरुमा कलमी गरेको भाग भन्दा तलबाट आएका चोर हाँगाहरु अनिवार्य रुपमा हटाउनुहोस्।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
- उच्च पहाडमा लगाएको आलुबालीमा गोडमेल गरि उकेरा दिनुहोस्। बीउको लागि लगाएको आलुबालीमा रागिंग (बेजातका, भाइरस लगेका, कमजोर र खिरिला बोटहरु उखेल्ने)गर्नुहोस्।
- गोलभेँडा तथा लहरे बालीमा डढुवा रोगको अनुकूल वातावरण भएकोले मेन्कोजेवयुक्त विषादी २.५ ग्राम प्रति लिटर पानीमा घोलेर बोटको सम्पूर्ण भाग भिज्नेगरि ७ दिनको अन्तरमा ४-६ पटक छर्नुहोस्।
- लहरे बालीमा लाग्ने धुले ढुसी रोग ब्यबस्थापनको लागि रोगी विरुवाको ठुटाहरु र झरेका पात जम्मा गरेर नष्ट गरि सल्फरयुक्त विषादी क्याराथेन वा थायोफेनेट मिथायल १.५ एम.जी. प्रति लिटर पानीमा मिसाई पुरै बोट भिज्नेगरि ७-१० दिनको अन्तरमा २-३ पटक आवश्यकता अनुसार छर्कनुहोस्।
- खनेको प्याजको बोटलाई २-३ दिन छाँयामा फिँजाएर मात्र टुप्पा काटी गाना अलग गर्नुहोस्। रोग लागेर बिग्रेको गानालाई हटाई केहि दिन सुकाएर प्याजको साईज अनुसार छुट्याएर भण्डारण गर्नुहोस्। साधारण अवस्थामा प्याजलाई खुला हावा लाग्ने बाँसको वा अन्य -याकमा भण्डारण गर्नुहोस्।
- उखुबालीमा प्लासी गवारोले क्षती पुर्याउने भएकोले नियमित अनुगमन गरि आवश्यकता अनुसार ब्यवस्थापनका उपायहरु अपनाउनुहोस्।
- हाल देशका विभिन्न स्थानमा गाई-भैसीँमा लम्पी स्किन रोग र सुङ्गुर, बङ्गुरमा अफ्रिकन स्वाईन फिभर रोग देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाई उपलब्ध खोपहरु लगाउनुहोस्।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्।
- यस साताको अन्तमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले माछापोखरीको प्रवेश द्वार र निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।