![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ९)
- गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा १५५.४ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेश, मधेश प्रदेश र सुदूर-पश्चिम प्रदेशका अधिकांश तराईका स्थानहरुमा र लुम्बिनी प्रदेशका धेरै तराईका स्थानहरुमा तथा बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको लुम्बिनी केन्द्रमा सबैभन्दा बढी ३९.३ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ६.४ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहने छ। साथै देशको बाँकी पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- देशको पहाडी भू-भागः साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ। कोशी प्रदेशको एक-दुई स्थानमा धेरै भारी बर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः कोशी प्रदेश तथा मधेश प्रदेशमा साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ/ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बाँकी तराईमा साताभर थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ। कोशी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा धेरै भारी बर्षाको पनि सम्भावना छ।
- यो साता देशको पहाडी तथा हिमाली भू-भागमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन सम्भावना छ। तथापी तराईको अधिकतम तापक्रम हल्का घट्ने सम्भावना छ।
हाल मनसुनको अवस्था
- यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिन कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको छ। नेपालमा यस वर्षको मनसुनको आगमन मिति २०८२/०२/१५ गते (सन् २०२५ मे २९ तारिख) कोशी प्रदेशबाट भएको थियो।
कृषि सारांश
- आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर वा सरदर भन्दा बढी वर्षा हुने संभावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि कृषि कर्महरु गर्दा पुर्व तयारी कार्यलाई विशेष ध्यान दिनुहोस्। साथै सुख्खा र डुबान दुवै सहन सक्ने धानका सिफारिश गरिएका जातहरु आवश्यकता अनुसार लगाउनुहोस्।
- आगामी साता देशका अधिकांश स्थानहरुमा मध्यम देखि भारी वर्षा र कोशी तथा मधेश प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको संभावना रहेकोले मकैबाली, तरकारी तथा फलफूल बगैंचामा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्। साथै देशका कतिपय क्षेत्रमा चैते धान भित्र्याउने बेला भएकोले मौसमको अवस्था हेरेर भित्र्याउनुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
- मकैबालीमा अमेरिकन फौजी कीराको प्रकोप ज्यादा भएको ठाँउमा नोक्सानी कम गर्न मौसमको अवस्था हेरी इमामेक्टिन बेन्जोएट ५% एस.जी., ०.४ ग्राम वा स्पिनोस्याड ४५% एस.सी., ०.३ मिलिलिटर वा स्पाइनेटोराम ११.७ % एस.सी., ०.५ मिलिलिटर प्रति लिटर पानीको दरले बोट भिज्नेगरी ७ दिनको फरकमा २-३ पटक छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्नुहोस्।
- सुन्तलाजात तथा वर्षे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
- फलफूल बालीका नर्सरीहरुमा कलमी गरेको भाग भन्दा तलबाट आएका चोर हाँगाहरु अनिवार्य रुपमा हटाउनुहोस्।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
- धेरै विहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य विहान र बेलुकीपख मात्र टिप्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने रोगको नियमित अनुगमन गर्नुहोस्।
- गोलभेँडा तथा लहरे बालीमा डढुवा रोगको अनुकूल वातावरण भएकोले मेन्कोजेवयुक्त विषादी २.५ ग्राम प्रति लिटर पानीमा घोलेर बोटको सम्पूर्ण भाग भिज्नेगरि ७ दिनको अन्तरमा ४-६ पटक छर्नुहोस्।
- लहरे बालीमा लाग्ने धुले ढुसी रोग ब्यबस्थापनको लागि रोगी विरुवाको ठुटाहरु र झरेका पात जम्मा गरेर नष्ट गरि थायोफेनेट मिथायल ०.५ ग्राम प्रति लिटर पानीमा मिसाई पुरै बोट भिज्नेगरि ८-१० दिनको अन्तरमा २-३ पटक आवश्यकता अनुसार छर्कनुहोस्।
- हाल देशका विभिन्न स्थानमा गाई-भैसीँमा लम्पी स्किन रोग र सुङ्गुर, बङ्गुरमा अफ्रिकन स्वाईन फिभर रोग देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाई लम्पी स्किन रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्।
- यस साताको अन्तमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले माछापोखरीको प्रवेश द्वार र निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।