कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १४)

मौसमी सारांश:

  • गत साता देशका सबै केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा २४५.४ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका धेरै स्थानहरुमा, लुम्बिनी प्रदेशका केही तराईका स्थानहरुमा तथा गण्डकी प्रदेश र कोशी प्रदेशका एक दुई स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी ३७.४ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.१ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशैभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ। 
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको मध्यमा थोरै स्थानहरूमा र अन्त्यमा एक-दुई स्थानमा तथा बाँकी प्रदेशमा साताको मध्य अन्त्यमा एक-दुई स्थानमा भारी बर्षा/हिमपात को पनि सम्भावना छ। साताको शुरू र अन्त्यमा सबै प्रदेशको केही स्थानहरुमा र मध्यमा धेरै स्थानहरू मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। 
  • पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षा तथा एक-दुई स्थानमा अति भारी बर्षा र बाँकी प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा मध्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना छ। साताको शुरू र अन्त्यमा सबै प्रदेशका  पहाडी भू-भागका केही स्थानहरूमा र मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। 
  • तराई भू-भागः कोशी प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा मध्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको मध्य थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा भारी देखि धेरै भारी बर्षा र बाँकी प्रदेशमा साताको मध्य तथा अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
  • यो साताको शुरु र अन्त्यमा देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नभएतापनि साताको मध्यमा अधिकतम र न्यूनतम तापक्रम केही घट्ने सम्भावना छ। 
  • औसतसँग तुलना गर्दाः मध्य र पश्चिम तराईमा औसत भन्दा कम वर्षा हुने, पहाडी भू-भाग र पूर्वी तराईमा औसत आसपास र बाँकी स्थानहरूमा औसत भन्दा थोरै बढी बर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना छ। 

मनसुन ऋतु २०८२ को अद्यावधिक हावापानी आँकलन

  • A map of nepal with different colored lines

AI-generated content may be incorrect.यस वर्ष नेपालमा मनसुन सरदर भन्दा १५ दिन अघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरि असार ६ गते देशभर फैलिएको थियो। मनसुन ऋतु सुरु हुनु अगावै जेठ ७ गते जल तथा मौसम विज्ञान विभागबाट नेपालको यस वर्षको मनसुन ऋतुको ऋतुगत हावापानी आँकलन सार्वजनिक गरिएकोमा हाल जुलाई देखि सेप्टेम्बर सम्मको तीन महिना अवधिको लागि हावापानी आँकलन अध्यावधिक गरिएको छ। हालसम्म प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार जुन महिनामा भएको वर्षा सरदरको ९९% रहेको छ। जुलाई देखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम, कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदर र देशका बाँकी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।

 

 

 

कृषि सारांश

  • मधेश प्रदेशमा यस वर्षको मनसुन ऋतुको जुन महिनामा औसत भन्दा कम वर्षा मापन भएको साथै जल तथा मौसम विज्ञान विभागबाट अध्यावधिक गरिएको ऋतुगत आँकलन अनुसार जुलाई देखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना रहेकोले वर्षातको पानी संकलन (Rain water harvesting) गर्न स-साना पोखरी, ट्याङ्की आदीमा संकलन गरी सुख्खाको समयमा आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
  • रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ७५ एम.एल.को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ५१ एम.एल.को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
  • सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक (Bispyribac Sodium 10 % SC)  २५ लिटर पानीमा १२ मिलीलीटरको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • २५-३० दिन भैसकेका कोदोका बेर्ना रोप्नुहोस्।
  • सुन्तलाजात तथा वर्षे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्। बिरुवा रोप्दा जमिनबाट १ फिट उँचो बनाइ, ग्रफ्टिङ गर्दा जोडिएको जोडिएको भाग माटोले नपुरिने गरि सार्नुहोस्।    
  • उच्चपहाडमा परिपक्क भइसकेको आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।
  • मध्य पहाडी जिल्लाहरुमा काउलीको अगौटे जातहरु-सिल्भर कप ६०, ह्वाइट टप, सुपर ह्वाइट टप, तराई १ र तराई २ को नर्सरी राख्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग व्यवस्थापनको लागि कपरयुक्त विषादी वा मेटाल्यक्सिल २ ग्राम प्रति लिटर पानीमा मिसाई ७-१० दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन (Sectin-60WG) बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर २-३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • वर्षातको समयमा मौरी घारमा खाना (मह र पराग) छ छैन नियमित अनुगमन गर्नुहोस्। यो समयमा मौरीलाई चरन कम हुने भएकोले चिनी चास्नी बनाएर खुवाउनुहोस्। साथै घार राखेको सबै खुट्टाहरुमा कचौरा/प्लास्टिकको बट्टामा पानी राख्नुहोस्।
  • भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मुत्रबाट सर्ने लेप्टोस्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढि हुने भएकाले धान/खेतबारीमा बुट लगाएर मात्र जानुहोस्।
  • हाल देशका विभिन्न स्थानमा गाई-भैँसीमा खोरेत, चरचरे, भ्यागुते र लम्पी स्किन रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
  •  सुङ्गुर, बङ्गुरमा अफ्रिकन स्वाईन फिभर रोग देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाउनुहोस्।
  • वर्षातको समयमा कुखुराको खोरभित्र पानी पस्न नदिन जालीबाहिर प्लास्टिकले ढाक्ने व्यवस्था गर्नुहोस्।
  • माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।