कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १५)

मौसमी सारांश:

  • गत साता देशभर वर्षा मापन गरिएको छ। तथापि धेरै केन्द्रहरुमा साप्ताहिक वर्षा सरदर भन्दा कम रहेको छ। सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ३००.६  मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। अधिकतम तथा न्यूनतम तापक्रम अधिकांश स्थानहरुमा सरदर भन्दा बढी मापन गरिएको छ। मधेश प्रदेशको सिराहा जिल्लामा रहेको लाहान केन्द्रमा सबैभन्दा बढी ३७.० डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.८ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साताभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ। साताको मध्यमा भारतको पश्चिम बंगाल र झारखण्ड आसपासको क्षेत्रमा बन्ने न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहने देखिन्छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश र बागमती प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी बर्षा/ हिमपातको सम्भावना छ। साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ। साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा सम्भावना
  • तराई भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। साताको शुरु र अन्त्यमा एक -दुई स्थानमा तथा मध्यमा थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना देशका तराई भू-भागका थोरै स्थानमा साताको शुरुमा हावाहुरी लाग्ने संभावना छ।
  • यो साताको शुरु र अन्त्यमा देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नभएतापनि साताको मध्यमा अधिकतम र न्यूनतम तापक्रम केही घट्ने सम्भावना छ। 
  • औसत संग तुलना गर्दाः मध्य र पश्चिम तराईमा औसत भन्दा कम वर्षा हुने, पहाडी भू-भाग र पूर्वी तराईमा औसत आसपास र बाँकी स्थानहरूमा औसत भन्दा थोरै बढी बर्षा हुने सम्भावना छ। सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना छ। 

 

कृषि सारांश

 

  • मधेश प्रदेशमा यस वर्षको मनसुन ऋतुको जुन महिनामा औसत भन्दा कम वर्षा मापन भएको साथै जल तथा मौसम विज्ञान विभागबाट अध्यावधिक गरिएको ऋतुगत आँकलन अनुसार जुलाई देखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना रहेकोले वर्षातको पानी संकलन (Rain water harvesting) गर्न स-साना पोखरी, ट्याङ्की आदीमा संकलन गरी सुख्खाको समयमा आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
  • मधेश प्रदेश लगायतका क्षेत्रमा वर्षामा आधारित धान रोप्ने कृषकहरुले धान रोप्दा खेतमा वर्षाको पानी संरक्षण गर्नका लागि फराकिलो तथा अग्लो आली बनाई खेतमा वर्षाको पानी संरक्षण गरी सुख्खाले निम्त्याउन सक्ने जोखिम कम गर्नुहोस् I
  • यस वर्षको मनसुनी वर्षाको तथ्याङ्क हेर्दा मधेश लगायत तराईका विभिन्न भाग खास गरी दक्षिण क्षेत्रमा औसत भन्दा कम पानी परेको अवस्था यो क्रम जारी रहने संभावना देखिएकाले धान रोपीसकेका तथा रोप्न बाँकी रहेका किसानहरुले सम्भावित जोखिम न्यून गर्न देहाय बमोजिमका क्रियाकलापहरु गर्नुहोस्।
    • सिंचाईको सुविधा भएका तथा धान रोपीसकेका किसानहरुले उपलब्ध सिंचाई सुविधाको दक्षतापुर्वक प्रयोग गर्न धान खेत पालै-पालो भिजाउने र सुकाउने प्रविधि (AWD) प्रयोग गर्नुहोस्।
    • धान रोप्न बाँकी रहेका किसानहरुले सुख्खा सहन सक्ने जातहरु जस्तैः सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५, र सुख्खा धान-६, असीचित क्षेत्रका लागि सिफारिश जातहरुः घैया धान-१, घैया धान-२ तथा सुख्खा र डुबान दुवै सहन सक्ने जातहरु जस्तैः बहुगुणी धान-१, बहुगुणी धान-२, जस्ता जातहरु प्रयोग गर्नुहोस्।
    • धान रोप्न बाँकी भएमा खेतको केहि भागमा वर्षाको पानी संकलन गर्न प्लास्टिक पोखरी/खाल्डो बनाउनुहोस्। यसरी जम्मा गरिएको पानी धानको संवेदनशील चरणमा (Critical Stages) प्रयोग गरी उत्पादनमा पर्ने असरलाई न्यून गर्नुहोस्।
    • सुख्खाको कारणले बेर्ना उपलब्ध नभएको अवस्थामा ड्रम सिडर प्रयोग गरी हिले छरुवा धान खेती प्रविधि (DSR) प्रयोग गर्नुहोस्।
    • विभिन्न कारणले धान रोप्न नसकेका किसानहरुले राईस ट्रान्सप्लान्टर प्रयोग गरी धान रोप्नुहोस्। यस विधिबाट १२-१५ दिनको बेर्ना रोप्न सकिन्छ।
  • रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ५ एम.एल.को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ५१ एम.एल.को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
  • सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक (Bispyribac Sodium 10 % SC)  २५ लिटर पानीमा १२ मिलीलीटरको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • २५-३० दिन भैसकेका कोदोका बेर्ना रोप्नुहोस्।
  • तराई, भित्री मधेश तथा मध्यपहाडका टार तथा होचा क्षेत्रहरुमा मास लगाउने समय भएकोले खेतको आली तथा पानी नजम्ने जग्गामा सिफारिस गरिएका वा उपलब्ध स्थानीय जातहरु लगाउनुहोस्।
  • गहत बालीको लागी १.५ के.जी. प्रति रोपनी वा १ के.जी. प्रति कठ्ठाको दरले एक हार देखि अर्को हारको दूरी ३० देखि ४० से.मी. र एक बोट देखि अर्को बोटको दूरी ५ से.मी. कायम गरि रोप्नुहोस्।
  • मध्य पहाडी जिल्लाहरुमा काउलीको अगौटे जातहरु-सिल्भर कप ६०, ह्वाइट टप, सुपर ह्वाइट टप, तराई र तराई को नर्सरी राख्नुहोस्।
  • मध्य पहाडी जिल्लाहरुमा खुमल ज्यापू काउलीको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गामा माटोको उपचार गर्नुपरेमा बेभिष्टीन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बिउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • कागतीको जरा कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। जरा कुहिएको शंकास्पद बोटको वरिपरि १% को बोर्डो मिश्रणको झोल बनाई ड्रेन्चिङ गर्नुहोस् तथा ट्राइकोडर्मा २ ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग व्यवस्थापनको लागि कपरयुक्त विषादी वा मेटाल्यक्सिल २ ग्राम प्रति लिटर पानीमा मिसाई ७-१० दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • गोलभेँडामा अगौटे र पछौटे डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त बोटहरु काँटछाँट गरि हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरु टिपेर उचित व्यवस्थापन गर्नुका साथै साफ बिषादी तथा सेक्टिन (Sectin-60WG) बिषादी आलोपालो गरि हप्ता दिनको फरकमा २ एम.एल. पानीको घोलमा मिसाएर -३ पटकसम्म सम्पूर्ण बोटहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मुत्रबाट सर्ने लेप्टोस्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढि हुने भएकाले धान/खेतबारीमा बुट लगाएर मात्र जानुहोस्।
  • हाल देशका विभिन्न स्थानमा गाई-भैँसीमा खोरेत, चरचरे, भ्यागुते र लम्पी स्किन रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
  •  सुङ्गुर, बङ्गुरमा अफ्रिकन स्वाईन फिभर रोग देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाउनुहोस्।
  • वर्षातको समयमा कुखुराको खोरभित्र पानी पस्न नदिन जालीबाहिर प्लास्टिकले ढाक्ने व्यवस्था गर्नुहोस्।
  • माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।