कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १६)

कृषि-मौसम सल्लाह बुलेटिन

 

नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा ‍

 

मौसमी सारांश:

  • यो साताभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ। यस साता मनसुन न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहने सम्भावना छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी बर्षा/हिमपातको सम्भावना छ। साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः साताको मध्यमा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक-दुई स्थानमा भारी बर्षाको तथा कोशी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको पनि सम्भावना छ। साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा साताको मध्यमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा सम्भावना छ।
  • तराई भू-भागः बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा तथा कोशी प्रदेश र मधेश प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा साताको मध्यमा कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरुमा र बाँकी तराईका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा सम्भावना छ।

कृषि सल्लाह

खाद्यान्नबाली

मधेश प्रदेशमा गत हिउँद ऋतुमा वर्षा नभएको साथै यस वर्षको मनसुन ऋतुमा हालसम्म तीस वर्षको सरदर वर्षाको करीब २५% मात्र वर्षा मापन भएकोले सुख्खाग्रस्त रहेको र यो क्रम जारी रहने संभावना देखिएको साथै कृषि विभागको तथ्याङ्क बमोजिम हालसम्म सो क्षेत्रमा करीव ५२% मात्र धान रोपाई भएको अवस्था तथा जल तथा मौसम विज्ञान विभागबाट अद्यावधिक गरिएको ऋतुगत आँकलन अनुसार जुलाई देखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना रहेको सन्दर्भमा नेपाल कृषि अनुसन्धान परिषद्द्वारा मिति २०८२/४/११ गतेको निर्णय अनुसार धान खेति प्रणालीमा आधारित यो जानकारीमूलक सामग्री सम्पूर्ण कृषक वर्गमा जारी गरिएको छ।

अवस्था १: हाल धानको ब्याडमा रहेका बेर्ना कसरी जोगाउने?

अवस्था २: हाल खेतमा रहेको धान  कसरी जोगाउने?

अवस्था ३: साउन अन्तिम सम्म यही अवस्था रहेमा के गर्ने?

अवस्था ४: भदौ लागे पछी पनि यही अवस्था रहे के गर्ने?

होचो भूभागको लागि खरुहन (Double transplanting) विधि अपनाउने

जमिनको अवस्था हेरी १४०-१६० दिनमा पाक्ने जातहरुमा उपयुक्त हुने)

यसरी खरुहन विधिबाट सारेको बेर्ना बचाउनको लागि उपलब्ध स्रोत साधनको प्रयोग गरि बाली मर्न नदिन अति आवश्यक अवस्थामा सिँचाइ गर्ने

पानी नपरेको अवस्थामा विभिन्न रोग र कीराहरुको आक्रमण बढी हुने भएकोले नियमित  अवलोकन र खाद्य तत्त्वको उचित ब्यबस्थापन गर्ने

उपलब्ध भएसम्म  पम्पको पानी उपयोग गरि हल्का सिंचाई गर्ने

छरुवा धान अपनाउने

सुख्खाग्रस्त अवस्थामा खेत नहिल्याई पनि छरुवा धान खेती गर्न सकिने

धानका छिटो पाक्ने जातहरु हर्दिनाथ-१, चैते-२, चैते ५ र सुख्खा धान-३, सुख्खा धान ५, सुख्खा धान ६ प्रयोग गर्ने

वैकल्पिक बाली/प्रणाली:

पानी निकास हुने जमिनमा आफ्नो बाली प्रणालीमा उपयुक्त हुने छिटो पाक्ने मकैका  जात (अरुण २, अरुण ४) लगाउन  सकिने जसले गर्दा गहुँ लगायतका हिउदेबाली लगाउन सहज हुने,  यद्यपि हिउँदे मकै खेती गर्ने किसानले भाद्र देखि कार्तिकसम्म मकै लगाउन सक्ने 

पुनश्च: छरुवा धान छरेको ८-१० दिन भित्र पानी परेमा वा माटोमा चिस्यानको मात्रा कायम रहेमा जातीय विशेषता अनुसार धानको उमार शक्ति राम्रो रहन्छ, तर माटोमा चिस्यान नरहेको अवस्था र धान छरेको १० दिन भित्र पनि पानी नपरेमा उमारशक्ति घट्न गई उत्पादन र उत्पादकत्त्वमा केहि ह्रास आउन सक्छ। छोटो अवधि र बासमती धानका जातहरु श्रावन मसान्तसम्म लगाउन सकिने भएकाले जात छनौट गर्दा विशेष ध्यान दिनुहोस्।

  • सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ मिलीलीटरको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्। साथै, मेसिनबाट लाईनमा लगाईएको छरुवा धानको गोडमेल गर्न कोनो वीडर प्रयोग गर्नुहोस्।
  • धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक बोट भिज्नेगरि छर्नुहोस्।
  • तयार भैसकेका (२०-२५ दिनका) कोदोबालीका बेर्ना रोप्नुहोस्। जग्गा तयारीको बेलामा १.५ के.जी. युरिया; ३.३ के.जी. डि.ए.पी.; १.७ के.जी. म्यूरेट अफ पोटास प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस्।

फलफूल बाली

  • आरु, आरुवखडा, खुर्पानीमा ईन-सिटु चिप बडिङ्ग गरी पानी नपरेको दिनमा १ प्रतिशतको बोर्डो मिश्रण छर्कनुहोस्।
  • सुन्तलाजात फलफूल बालीमा लाग्ने कत्ले कीरा व्यवस्थापनको लागी सामान्य प्रकोप भएका हाँगा पातहरु जलाईदिने तथा कीरा लागेको ठाँउमा कपडा/कपासले राम्ररी पुछ्नुहोस्। प्रकोप ज्यादा खनिज तेल १० एम.एल. प्रति लिटर पानीको दरले घोली - दिनको अन्तरमा कत्ले कीरा लागेको स्थानमा छर्नुहोस्।
  • अम्बामा हरेक वर्ष दादे रोग लाग्ने गरेको छ भने आउने वर्षहरुमा यो रोग लाग्न नदिन बोटको रोगी हाँगा र फललाई टिपेर सुरक्षित तरिकाले जलाउनुहोस् वा खाल्डोमा पुरिदिनुहोस्।बिरुवाको काँटछाँट पछि कपर अक्सिक्लोराइड ३ ग्राम प्रति लिटर पानीमा घोलेर बिरुवा भिज्नेगरि छर्कनुहोस्।   
  • देशका बिभिन्न ठाँउमा जुनार सुन्तलाको फल चुस्ने चुसाहा पुतली कीराको प्रकोप देखा परेको हुँदा अनुगमन गरी व्यवस्थापनका लागि बगैचा सरसफाई मा बिशेष ध्यान दिनु पर्दछ, बगैचा वरिपरी का झार हरु नष्ट गर्ने,झरेका फलहरु संकलन गरि नष्ट गर्ने, सामुहिक रुपमा बगैचामा  धुँवाको व्यवस्था गरि कीरा धपाउने, बत्तिमा आकर्षित गरि नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियान २ एम.एल. को घोलमा १०० ग्राम सख्खर मिसाएर छर्किने गर्नुहोस्।
  •  स्याउको रातो सुलसुले कीरा व्यवस्थापनको लागि स्पाइरोमेसिफेन (२२.% एस.सी.) एम.एल. प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस् वा डाइमेथोएट (३५% .सी.) . एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि छर्नुहोस्।

तरकारी बाली

  • तराई तथा मध्यपहाडी भेगका पानी नजम्ने जग्गामा सखरखण्डका सुन्तले सखरखण्ड-१, सुन्तले सखरखण्ड-२ लगायत अन्य उपलब्ध जातहरु रोप्नुहोस्।
  • मध्य पहाडी जिल्लाहरुमा काउलीको अगौटे जातहरु-सिल्भर कप ६०, ह्वाइट टप, सुपर ह्वाइट टप, तराई १ र तराई २ को नर्सरी राख्नुहोस्।
  • लहरे बालीमा लाग्ने धुले ढुसी रोग ब्यबस्थापनको लागि रोगी विरुवाको ठुटाहरु र झरेका पात जम्मा गरेर नष्ट गरि थायोफेनेट मिथायल ०.५ ग्राम प्रति लिटर पानीमा मिसाई पुरै बोट भिज्नेगरि ८-१० दिनको अन्तरमा २-३ पटक आवश्यकता अनुसार छर्कनुहोस्।

पशुपालन

गाई, भैँसी, भेडा, बाख्रा

  • पशुवस्तुलाई चट्याङबाट वचाउनको लागि खराब मौसम हुने दिन चराउन नलैजानुहोस्। पानी परिरहेको अवस्थामा पशुलाई अग्लो ठाँउ, खुल्ला डाँडा र टावर नजिक नलैजानुहोस्। पशुवस्तुलाई अग्लो रूखमुनि ओत नलगाउनुहोस् साथै बिजुलीको पोलमा नबाँध्नुहोस्। पशुलाई बगेको पानी, खोला, नदी, पोखरीमा नलैजानुहोस् साथै गोठमा चट्याङ निरोधक यन्त्र (अर्थिङ) जडान गर्नुहोस्।
  • बर्षातको समयमा पशुबस्तुको खुट्टाको कापतिर घाउ हुने, पाक्ने, औँसा पर्ने, खुर कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशुबस्तुको हिँडडुल, चाल आदिको राम्रो निरीक्षण गरि समयमै भेटेरीनरी प्राबिधिकसँग सम्पर्क राख्नुहोस्।
  • शंखेकीराको प्रकोप भएको पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशु-वस्तुलाई चराउन लैजानु हुँदैन। ती ठाउँका घासपात पशुवस्तुले खाँदा नाम्ले रोग लाग्न सक्दछ। तसर्थ पशुवस्तुलाई घाँस खुवाउनुअघि घाममा ओइलाएर मात्र खुवाउनुहोस्।

मत्स्यपालन

  • माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। पोखरीमा पानीको गहिराई १-१.५ मीटर राख्नुहोस्। भारी वर्षामा ओभरफ्लो हुन नदिन ५० से.मी. खाली भाग (freeboard) कायम राख्नुहोस् र माछापोखरीको प्रवेश द्वार र निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
  • माछापालन गर्ने कृषकहरुले आफ्नो व्यवसायलाई दैवी प्रकोपबाट हुने आर्थिक क्षतीको न्यूनीकरण गर्न माछाको बीमा गर्नुहोस्। थप जानकारीको लागि नजिकैको गाउँपालिका, नगरपालिका र सम्वन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा सम्पर्क गर्नुहोस्।
  • वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
  • स्थानीय कार्प (रहू, नैनी र भाकुर) माछाको प्रजनन मौसम भएकोले माउ माछाको व्यवहार परिवर्तनको दैनिक रेकर्डका आधारमा प्रत्येक हप्ता माउ पोखरीबाट परिपक्क माउ छनौट गरेर करीब २४ घण्टा होल्डिङ्ग ट्याङ्कीमा अनुकुलन गरि प्रजनन गर्नुहोस्।
  • कार्प माछाका ठुला भुरा तथा फिंगरलिंगको लागि सन्तुलित र २५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ४-५ प्रतिशतका दरले दैनिक दिनुहोस्। यसको लागि आवश्यक पर्ने दाना बनाउन चाहिने कच्चा पदार्थ र तिनीहरुको मिश्रण दाँयाको तालिकामा छ।
  • माछामा वाह्य परजीवि आर्ग्युलस (माछाको जुम्रा) को संक्रमण भएमा पोखरीमा माछा उफ्रने र किनारामा घस्रिने गर्छ। यस्तो लक्षण देखिएमा प्रति २० के.जी. माछालाई आईभरमेक्टिन १ एम.एल. को दरले दानामा मिसाई ३ दिनसम्म लगातार दिएपछि १ दिन छोडी फेरी २ दिनसम्म लगातार दिनुहोस्।

 

घाँसेबाली

  • तराई तथा मध्य पहाडी क्षेत्रमा मुलाटो घाँसको बिरुवा सार्ने समय भएकोले ४५-६० दिनका बिरुवा नर्सरीबाट उखेल्नासाथ (सकेसम्म छिटो) रोप्नुहोस्।
  • तराई तथा मध्य पहाडी क्षेत्रमा सुम्बा सेटारिया घाँसको ब्याड राख्ने समय भएकोले जमिनलाई राम्ररी २-३ पटक खनजोत गरि पर्याप्त चिस्यान भएको व्याडमा छर्नुहोस्। सुख्खा मौसममा व्याड राख्दा बीउलाई १.५ से.मी. गहिराईको कुलेसोमा छर्नुहोस्।
  • पहाडी भेगमा सुडान घाँसको बीउ लगाउने समय भएकोले खेतबारीमा सोझै छर्दा १.५ के.जी., हलोको सियोमा लगाउँदा १.२५ के.जी. र लाइनमा लगाउँदा ०.५-०.७५ के.जी. बीउ प्रति रोपनीका दरले छर्नुहोस्।
  • लेकाली क्षेत्रमा सेतो क्लोभर घाँसको बीउ छर्ने समय भएकोले सामान्य खनजोत गरि २५० ग्राम प्रति रोपनीको दरले बीउ छर्नुहोस्। लहराबाट पनि यस घाँसको विस्तार गर्न सकिन्छ।