कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५४)

मौसमी सारांश:

  • गत साताको पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशका केही केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेशबागमती प्रदेश र गण्डकी प्रदेशका केही केन्द्रहरूमा २५.० मिलिमिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। सबैभन्दा बढी दोलखा जिल्लामा रहेको चरिकोट केन्द्रमा ७५.0 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम मापन भएको छ भने अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर सुरूमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहने र साताको मध्यदेखि पूर्वी वायुको समेत प्रभाव बढ्ने देखिन्छ।
  • हिमाली भू-भागः साताको सुरूमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। साताको मध्यमा कोशी, बागमती गण्डकी केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती र गण्डकी धेरै स्थानहरूमा, लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः साताको सुरूमा कोशी प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको मध्यमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती र गण्डकी धेरै स्थानहरूमा, लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।
  • तराई भू-भागः साताको सुरूमा कोशी प्रदेशको थोरै स्थानहरूमा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको मध्यमा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी प्रदेशको धेरै स्थानहरूमा, मधेश, बागमती र गण्डकीका केही स्थानहरूमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।
  • कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साताको मध्यबाट तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यतिर अधिकतम र न्यूनतम तापक्रम केही घट्ने सम्भावना छ।

कृषि सारांश

 

  • मौसमको अवस्था हेरी गहुँलाई खेतमा नछोडी भित्र्याउनुहोस्। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू नजलाउनुहोस्।
  • गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई करीब १२%को चिस्यान कायम हुने गरी घाममा राम्ररी सुकाउनुहोस्। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै, भण्डारणका लागि बोरा प्रयोग गर्नुहुने किसानहरूले ५% नीमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसले रोग र कीराहरूका विभिन्न अवस्थाहरु नष्ट हुन्छन्।
  • खाद्यान्नको लागि प्रयोग गरिने गहुँ भण्डारणमा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा ४-५ ईन्च जति छहारीमा सुकाएको सुकिलो नीम, बकाइनो र तितेपाती जस्ता बोट विरुवाको पातहरु प्रयोग गर्नुहोस्।
  • चैते धानमा झारपात आउन नदिन ब्युटाक्लोर 5%जी.केजी प्रतिरोपनी वा .केजी प्रतिकट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर ५०% ईसी २५ लिटरमा पानीमा ५० एमएल को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एमएल को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
  • मध्यपहाडी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू; मनकामना-१, मनकामना-३, मनकामना-४, मनकामना-५, मनकामना-६, पोषिलो मकै-१, खुमल पहेंलो, सितला, देउती, खुमल हाइब्रिड-२ (वर्णशंकर मकै) आदि तथा छिटो पाक्ने मकैका जातहरू अरुण-३, अरुण-४, अरुण-६ र उच्च पहाडी क्षेत्रका लागि गणेश-१, गणेश-२ मध्ये उपलब्ध जातहरू १-१.५ केजी प्रतिरोपनीका दरले छर्नुहोस्।
  • मुंग लगाउनु हुने कृषकहरूले कल्याण, प्रतिक्षा र प्रतिज्ञामध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ केजी बीउ प्रतिकट्ठाका दरले छर्नुहोस्।
  • वर्षे फलफूल वगैँचा स्थापनाका लागि जग्गा छनोट गरी गुणस्तरीय विरुवाको श्रोत सुनिश्चित गर्नुहोस्।
  • पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
  • स्याउमा लाग्ने भुवादार लाही कीराको व्यवस्थापनको लागि नियमित अनुगमन गरी एकीकृत व्यवस्थापन विधि अपनाउनुहोस्। लाही कीराबाट संक्रमित हाँगा, मुनाहरू नष्ट गर्नुहोस्। लजालु स्वभावका परजीवी खपटे कीराहरूले यसलाई नोक्सान पुर्‍याउने भएकोले यसको सम्वर्द्धन गर्नुहोस्। साथै परजीवी कीरा; एफिलिनस मालीको प्रयोग गर्नुहोस्। खनिज तेल १० एमएल प्रतिलिटर पानीमा मिसाइ भुवादार लाही लागेको स्थानमा भिज्नेगरी सात दिनको फरकमा तीनपटक छर्कनुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा पात खन्ने कीरा (लिफ माईनर) बाट हुने क्षति कम गर्न पुरानो पातहरू हटाउनुहोस्।
  • लहरे बालीमा लाग्ने शीते ढुसी रोग व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरू हटाइ मेन्कोजेव वा मेटाल्याक्जिलयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू भिज्नेगरी हप्ता दिनको फरकमा २-पटकसम्म छर्कनुहोस्।
  • प्याज लगाएको करिब १२०-१३० दिन भएको वा प्याजको नेक फल हुन थालेको अवस्था भएमा प्याज बालीलाई करिब २०-३० दिनसम्म जमीनमा सुताइदिनुहोस्।
  • पशुवस्तुमा तातोको कारणले हुने तनाव कम गर्न, शीतल ठाउँमा बाँध्ने,  चिसो पानीमा भिटामिन‑सी, भेली सख्खर घोली प्रशस्त मात्रामा खुवाउनुहोस्। सम्भव भएसम्म पशुपंक्षीका खोर-गोठमा पंखा, स्प्रीङ्कलर, फोगर वा अन्य यस्तै शीतल गराउने उपकरण प्रयोग गर्नुहोस।
  • मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा कुखुरा, सुंगुर, बंगुर जस्ता बथानमा पालिने पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
  • हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
  • माछाका भुरा ढुवानी गर्दा पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान वा साँझपखको समय पारेर माछाका भुरा ढुवानी गर्नुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।