कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५5)

मौसमी सारांश:

  • गत साता नेपालमा पश्चिमी वायु र स्थानीय वायुको साथै देशको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै केन्द्रहरूमा १००.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। वर्षाका कारण गत साता देशका धेरै केन्द्रहरूमा सरदरभन्दा कम अधिकतम तापक्रम मापन भएको छ भने अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभाव रहने देखिन्छ।
  • हिमाली भू-भागः साताको सुरूमा र मध्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनीको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र अन्त्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनीको केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। गण्डकी प्रदेशमा साताभरि तथा कोशी बागमती  प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
  • पहाडी भू-भागः साताको सुरू र मध्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनीको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा साथै अन्त्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनीको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी प्रदेशमा साताभरि तथा कोशी, बागमती र लुम्बिनी प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
  • राई भू-भागः साताको सुरूमा र मध्यमा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा; लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा र अन्त्यमा कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरू र मध्यमा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
  • देशभर अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
  • सरदरसँग तुलना गर्दाः देशभर अधिकतम तापक्रम सरदरभन्दा कम रहने तथा न्यूनतम तापक्रम सरदर रहने सम्भावना छ।

कृषि सारांश

 

  • गत साता सरदरभन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मकै, मुंग लगायत तरकारी तथा फलफूल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुहोस्।
  • देशका अधिकांश स्थानहरूमा साताभरि नै हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मध्यपहाडमा लगाइएको गहुँलाई खेतमा नछोडी भित्र्याउनुहोस्। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू नजलाउनुहोस्।
  • चैते धानमा झारपात व्यवस्थापनको लागि झारनाशक विषादी बिस्पाएरिबेक (Bispyribac 10 EC), २५ लिटर पानीमा १२.मिलिलिटरको दरले मिसाएर प्रतिरोपनीमा अथवा १७ लिटर पानीमा ८.मिलिलिटरको दरले मिसाएर प्रतिकठ्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेट फेन नोजलले स्प्रे गर्नुहोस्। पछि झार आएमा ४०-५० दिनभित्र एकपटक हातले गोड्नुहोस्।
  • हरियो मल लगाउने उपयुक्त समय भएकाले धानबालीमा आवश्यक पर्ने खाद्यतत्व परिपूर्तिको लागि ढैँचा, सनइ, मुंग आदी लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ।
  • फलफूल तथा तरकारी बालीहरूमा लाग्ने रोग, कीरा व्यवस्थापनका लागि पाइएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग, कीराहरूले विषादी पचाउने क्षमता विकास गर्ने र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलोपालो गरी प्रयोग गर्नुहोस्।
  • पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
  • मध्याह्नपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्
  • लहरे बालीमा लाग्ने शीते ढुसी रोग व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरू हटाइ मेन्कोजेव वा मेटाल्याक्जिलयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू भिज्नेगरी हप्ता दिनको फरकमा २-पटकसम्म छर्कनुहोस्।
  • प्रि-मनसुनमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङ्गबाट पशुचौपायालाई जोगाउन मध्याह्नपछि जंगलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
  • हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
  • माछापालन गर्ने कृषकहरूले आफ्नो व्यवसायलाई प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिको न्यूनीकरण गर्न माछाको बीमा गर्नुहोस्। थप जानकारीको लागि नजिकैको स्थानीय तहहरूमा सम्पर्क गर्नुहोस्।
  • सेटेरिया, गिनी, सिग्नल जस्ता वर्षेघाँसका लागि नर्सरी बेडको तयारी गरी बीउ लगाउनुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि बजेसम्म फोन गर्नुहोस्।