कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५६)

मौसमी सारांश:

  • गत साता नेपालमा पश्चिमी वायु र स्थानीय वायुको साथै देशको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव तथा साताको मध्यमा नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभावले देशभरका सबै केन्द्रहरूमा वर्षा मापन भएको छ। वर्षा मापन भएका अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। कोशी प्रदेश र लुम्बिनी प्रदेशका थोरै केन्द्रहरूमा १००.० मिलिमिटरभन्दा बढी साप्ताहिक कूल वर्षा मापन भएका छन्। वर्षाका कारण गत साता देशका अधिकांश केन्द्रहरूमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा कम मापन भएको छ।
  • साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभाव रहने देखिन्छ।
  • हिमाली भू-भागः साताभर केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः साताभर धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
  • तराई भू-भागः साताभर केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
  • देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
  • सरदरसँग तुलना गर्दा: देशभर अधिकतम तापक्रम सरदरभन्दा कम रहने तथा न्यूनतम तापक्रम सरदर रहने सम्भावना छ।

मनसुन ऋतु (१८ जेठ १४ असोज) २०८३ को जलवायु आँकलन

  • जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ।

 

कृषि सारांश

 

  • आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेकाले धानखेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिनसक्ने र खडेरी सहनसक्ने जातहरू जस्तै; सुख्खा-१, सुख्खा-२, सुख्खा-३, सुख्खा-४, सुख्खा-५ सुख्खा-६ आदि छनौट गर्नुहोस्।
  • वर्षाको अनियमिततालाई ध्यान दिँदै आकाशे पानी संकलन (Rainwater Harvesting) गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुहोस्।
  • जलवायुमैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै; सुख्खा तथा हिले छरुवा धान खेती (Wet and Dry DSR), पालैपालो भिजाउने र सुकाउने (AWD), सघन धान खेती (SRI) प्रविधिहरू अपनाउनुहोस्।
  • माटोको चिस्यान संरक्षण गर्न उपलब्ध भए अनुसारको छापो/मल्चिङ प्रयोग गर्नुहोस्।
  • सवै प्रकारका बाली लगाउनुपूर्व जमीन तयारी गर्दा नै राम्रोसँग जमिन सम्याउने तथा पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
  • गत साता सरदरभन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मकै, मुंग लगायत तरकारी तथा फलफूल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुहोस्।
  • देशका अधिकांश स्थानहरूमा साताभरि नै हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मध्यपहाडमा लगाइएको गहुँलाई खेतमा नछोडी भित्र्याउनुहोस्। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू नजलाउनुहोस्।
  • हरियो मल लगाउने उपयुक्त समय भएकाले धानबालीमा आवश्यक पर्ने खाद्यतत्व परिपूर्तिको लागि ढैँचा, सनइ, मुंग आदी लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ।
  • फलफूल तथा तरकारी बालीहरूमा लाग्ने रोग, कीरा व्यवस्थापनका लागि पाइएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग, कीराहरूले विषादी पचाउने क्षमता विकास गर्ने र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलोपालो गरी प्रयोग गर्नुहोस्।
  • पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
  • मध्याह्नपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्।
  • काँक्रो, फर्सी समूहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि सल्फरयुक्त विषादी; डाइनोक्याब १.एमएल प्रतिलिटर पानीमा मिसा सम्पूर्ण पात भिज्नेगरी-१० दिनको फरकमा -पटक छर्कनुहोस्।
  • लहरे बालीमा लाग्ने शीते ढुसी रोग व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरू हटाइ मेन्कोजेव वा मेटाल्याक्जिलयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू भिज्नेगरी हप्ता दिनको फरकमा २-पटकसम्म छर्कनुहोस्।
  • जुटबालीमा झारपात नियन्त्रणको लागि प्रोपाक्विजाफोप १०% इसी ५ एमएल प्रतिलिटर र इथोक्सिसल्फ्युरोन १५% डब्लुडिजि १ एमएल प्रतिलिटर पानीको दरले मिसाइ बाली लगाएको २०-३० दिनभित्र मौसमको अवस्था हेरी छर्कनुहोस्।
  • न्यानो तापक्रम र ओसिलो हावाका कारण लामखुट्टे र झिंगाका संख्या वृद्धि भइ लम्पी स्किन र ब्लुटंग जस्ता रोगको जोखिम बढ्ने भएकाले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न खोर, गोठ र घर वरपर पानी जम्न नदिनुहोस्।
  • प्रि-मनसुनमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङ्गबाट पशुचौपायालाई जोगाउन मध्याह्नपछि जंगलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
  • हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
  • माछापालन गर्ने कृषकहरूले आफ्नो व्यवसायलाई प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिको न्यूनीकरण गर्न माछाको बीमा गर्नुहोस्। थप जानकारीको लागि नजिकैको स्थानीय तहहरूमा सम्पर्क गर्नुहोस्।
  • सेटेरिया, गिनी, सिग्नल जस्ता वर्षेघाँसका लागि नर्सरी बेडको तयारी गरी बीउ लगाउनुहोस्।
  • उच्च पहाडी क्षेत्रमा नयाँ घाँस तयार नभएसम्म डाले घाँस र बाँसका प्रजातिहरू खुवाउनुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि बजेसम्म फोन गर्नुहोस्।