कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५७)

मौसमी सारांश:

  • गत साता नेपालमा पश्चिमी न्यूनचापीय, स्थानीय वायुको साथै तल्लो वायुमण्डमलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। वर्षा मापन भएका केही केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै केन्द्रहरूमा ५०.० मिलिमिटरभन्दा बढी साप्ताहिक कल वर्षा मापन भएका छन्। वर्षाका कारण गत साता देशका अधिकांश केन्द्रहरूमा अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा न्यूनतम तापक्रम सरदरभन्दा कम मापन भएको छ।
  • साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभाव रहने देखिन्छ।
  • हिमाली भू-भागः साताभर कोशी बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरूआत र अन्त्यमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरूआत र अन्त्यमा केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरूआत र अन्त्यमा थोरै मध्यमा एक-दुई स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा थोरै स्थानहरू तथा कर्णाली प्रदेशमा मध्य र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
  • तराई भू-भागः कोशी प्रदेशमा साताको सुरूमा केही स्थानहरूमा, मध्य र अन्त्यमा थोरै स्थानहरू तथा मधेश प्रदेशमा सातभर थोरै स्थानहरूमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरूआत र अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/ हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
  • देशको पहाडी र तराई भू-भाग लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा तापक्रम उल्लेखनय परिवर्तन नहुने सम्भावना छ।
  • सरदरसँग तुलना गर्दा: देशभर अधिकतम र न्यनतम तापक्रम सरदरभन्दा केही बढी रहने सम्भावना छ।

मनसुन ऋतु (१८ जेठ १४ असोज) २०८३ को जलवायु आकलन

  • जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ।

 

कृषि सारांश

 

  • आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेकाले धानखेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिनसक्ने र खडेरी सहनसक्ने जातहरू जस्तै; सुख्खा-१, सुख्खा-२, सुख्खा-३, सुख्खा-४, सुख्खा-५ र सुख्खा-६ आदि छनौट गर्नुहोस्।
  • वर्षाको अनियमिततालाई ध्यान दिँदै आकाशे पानी संकलन (Rainwater Harvesting) गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुहोस्।
  • जलवायुमैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै; सुख्खा तथा हिले छरुवा धान खेती (Wet and Dry DSR), पालैपालो भिजाउने र सुकाउने (AWD), सघन धान खेती (SRI) प्रविधिहरू अपनाउनुहोस्।
  • माटोको चिस्यान संरक्षण गर्न उपलब्ध भए अनुसारको छापो/मल्चिङ प्रयोग गर्नुहोस्।
  • सवै प्रकारका बाली लगाउनुपूर्व जमीन तयारी गर्दा नै राम्रोसँग जमिन सम्याउने तथा पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
  • गत साता सरदरभन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मकै, मुंग लगायत तरकारी तथा फलफूल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुहोस्।
  • यस प्रि-मनसुन अवधिमा हालसम्म अधिकांश ठाँउमा सरदरभन्दा बढी पानी परेकाले भण्डारण गरी राखिएका तथा भण्डारण गर्न लागिएको अन्न बाली, दाल बाली ईत्यादीमा चिस्यानको नियमित अनुगमन गर्नुहोस्। 
  • देशका अधिकांश स्थानहरूमा साताभरि नै हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मध्यपहाडमा लगाइएको गहुँलाई खेतमा नछोडी भित्र्याउनुहोस्। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू नजलाउनुहोस्।
  • हरियो मल लगाउने उपयुक्त समय भएकाले धानबालीमा आवश्यक पर्ने खाद्यतत्व परिपूर्तिको लागि ढैँचा, सनइ, मुंग आदी लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ।
  • आलुको पुतलीले सामान्यतया भण्डारणमा असर गर्ने भए तापनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्‍याउनुहोस्।
  • बर्खे फलफूलको बगैंचा स्थापनाको लागि जग्गा छनोट गरी खाडल तयार गरी गुणस्तरीय विरुवाको स्रोत सुनिश्चित गर्नुहोस्।
  • मध्याह्नपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्। आलुको पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा असर गर्ने भए तापनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्‍याउनुहोस्।
  • काँक्रो, फर्सी समूहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि सल्फरयुक्त विषादी १.५ एमएल प्रतिलिटर पानीमा मिसाइ सम्पूर्ण पात भिज्नेगरी ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
  • लहरे बालीमा लाग्ने शीते ढुसी रोग व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरू हटाइ मेन्कोजेव वा मेटाल्याक्जिलयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू भिज्नेगरी हप्ता दिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
  • जुटबालीमा झारपात नियन्त्रणको लागि प्रोपाक्विजाफोप १०% इसी ५ एमएल प्रतिलिटर र इथोक्सिसल्फ्युरोन १५% डब्लुडिजि १ एमएल प्रतिलिटर पानीको दरले मिसाइ बाली लगाएको २०-३० दिनभित्र मौसमको अवस्था हेरी छर्कनुहोस्।
  • न्यानो तापक्रम र ओसिलो हावाका कारण लामखुट्टे र झिंगाका संख्या वृद्धि भइ लम्पी स्किन र ब्लुटंग जस्ता रोगको जोखिम बढ्ने भएकाले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न खोर, गोठ र घर वरपर पानी जम्न नदिनुहोस्।
  • प्रि-मनसुनमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङ्गबाट पशुचौपायालाई जोगाउन मध्याह्नपछि जंगलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
  • हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
  • माछापालन गर्ने कृषकहरूले आफ्नो व्यवसायलाई प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिको न्यूनीकरण गर्न माछाको बीमा गर्नुहोस्। थप जानकारीको लागि नजिकैको स्थानीय तहहरूमा सम्पर्क गर्नुहोस्।
  • माछाका भुरा ढुवानीमा प्लास्टिक भित्रको पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान वा साँझपख माछाका भुरा ढुवानी गर्नुहोस्।
  • सेटेरिया, गिनी, सिग्नल जस्ता वर्षेघाँसका लागि नर्सरी बेडको तयारी गरी बीउ लगाउनुहोस्।
  • उच्च पहाडी क्षेत्रमा नयाँ घाँस तयार नभएसम्म डाले घाँस र बाँसका प्रजातिहरू खुवाउनुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि बजेसम्म फोन गर्नुहोस्।