![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक ११)
- गत साता कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भु-भाग, गण्डकी प्रदेशको केही भु-भाग र लुम्बिनी प्रदेशको पूर्वी भु-भागको थोरै स्थानमा मनसुनी वायु तथा अन्य भु-भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका धेरै केन्द्रहरूमा तथा मधेश प्रदेश र बागमती प्रदेशका केही केन्द्रहरूमा १००.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। गत साता लुम्बिनी प्रदेशका एक-दुई केन्द्रहरूमा ४०.० डि.से भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। देशका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम मापन भएको छ। त्यसैगरी देशका केही केन्द्रहरूमा न्यूनतम तापक्रम सरदरभन्दा बढी मापन भएको छ।
- यो साताको सुरू र मध्यमा कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भु-भाग, गण्डकी प्रदेशको केही भु-भाग र लुम्बिनी प्रदेशको पूर्वी भु-भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहनेछ। अन्य भु-भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहनेछ। साताको अन्त्यमा भने देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ।
- हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा केही स्थानहरू र साताको अन्त्यमा धेरै स्थानहरूमा मध्यम सम्मको हिमपात/वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानहरू र साताको अन्त्यमा केही स्थानहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा केही स्थानहरू र साताको अन्त्यमा धेरै स्थानहरूमा मध्यम सम्मको वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम साताको सुरू र मध्यमा थोरै स्थानहरू र साताको अन्त्यमा केही स्थानहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना समेत सम्भावना छ।
- तराई भू-भागः कोशी प्रदेशमा साताको शुरूमा केही स्थानहरू र अन्त्यमा धेरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशमा साताको सुरूमा थोरै, मध्यमा केही स्थानहरू र साताको अन्त्यमा धेरै स्थानहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ। ती प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशमा साताको सुरूमा एक-दुई, मध्यमा थोरै स्थानहरू र साताको अन्त्यमा धेरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा थोरै स्थानहरू र साताको अन्त्यमा धेरै स्थानहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
- देशभर अधिकतम र न्यूनतम तापक्रम साताको अन्त्यमा हल्का घट्ने सम्भावना छ। साताको सुरुमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशमा तातो दिन हुने सम्भावना छ। साताको मध्य भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ।
- सरदरसँग तुलना गर्दाः देशभर अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढि हुने सम्भावना छ।
मनसुन २०८३ को आगमन अवस्था
- यस वर्षको मनसुन प्रणाली मिति २०८३/०३/०८ (२२ जुन) गतेका दिन कोशी प्रदेशको सम्पूर्ण भु-भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भु-भाग र लुम्बिनी प्रदेशको पूर्वी भु-भागको थोरै स्थानमा प्रवेश गरेको छ। नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी मिति २०८३/०३/०५ (१९ जुन) गते कोशी प्रदेशबाट आगमन भएको थियो। मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भु-भागमा बिस्तार हुन अझै केहि दिन लाग्ने देखिन्छ।
कृषि सारांश
- साताको सुरूमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो लहर हुने सम्भावना रहेकाले सकेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खेतबारीमा काम नगर्नुहोस्। काम गर्नैपरे पर्याप्त पानी खानुका साथै सुरक्षात्मक कपडा लगाउनुहोस्।
- साताको मध्य र अन्त्यमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा तथा साताको अन्त्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकोले मकैबाली, तरकारी तथा फलफूल बगैंचामा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्।
- मौसमको अवस्था हेरेर मात्र पाकेको चैते धान भित्र्याउनुहोस्।
- आगामी मनसुन ऋतुमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेकाले धानखेती गर्दा कम पानी भए पनि राम्रो उत्पादन दिनसक्ने र खडेरी सहनसक्ने जातहरू जस्तै; सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५ र सुख्खा धान-६ आदि छनौट गर्नुहोस्।
- वर्षे धानबालीबाट राम्रो उत्पादन लिन सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउलाई छानी कार्बेन्डाजिमयुक्त विषादी ३.० ग्राम प्रतिकेजी बीउको दरले उपचार गरेर मात्र ब्याड राख्नुहोस्।
- एक रोपनी जमिनमा वर्षे धान खेती गर्न २५ वर्गमिटर क्षेत्रफलको वा एक कठ्ठाको लागि १५ वर्गमिटर क्षेत्रफलको ब्याड तयार गर्दा राम्ररी पाकेको गोबरमल/कम्पोष्ट मल २०-२५ डोको प्रतिकट्ठा वा ३०-३५ डोको प्रतिरोपनीका दरले माटोमा राम्ररी मिलाइ १.६ केजी बीउ प्रतिकट्ठा वा २.५ केजी बीउ प्रतिरोपनीका दरले (१० वर्गमिटरमा १ केजी बीउका दरले) प्रयोग गर्नुहोस्।
- सिँचाइ र पानीको निकास राम्रो भएको धान खेतीमा जलवायु मैत्री कृषि प्रविधि जस्तै- हिले छरुवा (ड्रम सिडर) प्रयोग गरी लागत न्यूनीकरण गर्नुहोस्।
- कोदो बालीबाट राम्रो उत्पादन लिन ठाउँअनुसार सिफारिस गरिएका कोदोका जातहरूको ब्याड राख्नुहोस्।
- सुन्तलाजात तथा बर्खे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
- बिहान सबेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्यबिहान र बेलुकीपख मात्र टिप्नुहोस्।
- क्याल्सियम कार्बाइडमा आर्सेनिक र फस्फोरस हाइड्राइडको अवशेष पाइने हुँदा आँप, केरा आदि फलफूल पकाउन यसको प्रयोग नगर्नुहोस्। क्याल्सियम कार्बाइडले स्नायु प्रणालीमा असर गर्ने, क्यान्सर जस्ता घातक रोगहरू पनि गराउन सक्ने भएकोले आँप, केरा आदि फलफूल पकाउनै परेमा इथाइलिन झोल प्रयोग गर्नु अरुभन्दा सुरक्षित हुन्छ।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरूबाट विभिन्न रोग तथा कीराहरू सर्ने सम्भावना हुने भएकोले झरेका दानाहरूलाई टिपेर नष्ट गर्नुहोस्।
- आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग सुरु गर्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रवन्ध गर्नुहोस्, रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाइ ७-१० फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरी ड्रेन्चिङ गर्नुहोस्।
- धेरै गर्मी र असिलो तातो हावाको कारण हुने तनावले गर्दा पशुवस्तुले दाना, घाँस कम खाने र दूध उत्पादन ह्वात्तै घट्ने हुन्छ। गाईलाई भन्दा भैंसीलाई (भैँसीको कालो छालाको कारण र पसिना निकाल्ने ग्रन्थीहरू पनि कम भएकाले) गर्मीले अझ बढी असर गर्छ। यस्तो तनाव कम गर्न गोठमा पंखा चलाउने र पशुको जिउमा पर्नेगरी पानी छर्कने व्यवस्था मिलाउनुहोस्। दिउँसोको समयमा हरेक ३० देखि ४० मिनेटको फरकमा ३-५ मिनेटसम्म भैँसीलाई नुहाइदिनुहोस् वा आहाल बस्ने व्यवस्था मिलाउनुहोस्।
- गर्मीको समयमा दिउँसोको कडा घाममा भन्दा बिहान सबेरै र बेलुकाको समयमा घाँस र दाना दिनुहोस्। गर्मीले गर्दा पशुवस्तुको पेटमा अम्लीयपन बढ्ने भएकाले दानामा खाने सोडा ०.७५ देखि १ प्रतिशतसम्म मिसाएर दिनुहोस्।
- हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- पोखरीमा उपलब्ध हुने प्राकृतिक आहाराको अधिकतम उपयोगको लागि मत्स्य ह्याचरीमा उपलब्ध हुने कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प, रहु र नैनीका भुराहरू असारको अन्त्यसम्म विभिन्न जातहरूका अनुपात मिलाइ पोखरीमा राख्नुहोस्। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

